दोधारा भुपेन्द्र ओली । बाजुराबासीको मौलिक
साँस्कृतिक पर्व अनन्ते मेला यहाँका स्थानीयले बडो महत्वका साथ मनाउने गरेका छन् ।
अनन्तेलाई दशै तिहार जस्तै उत्साह र उमंगका साथ मनाउने गर्छन । भाद्र शुक्ल
पूर्णिमाका दिन सुरु हुने पर्व विधिवत रुपमाआज सकिसकेको छ ।
देउडालाई बाजुरा लगायत सुदूरपश्चिमका बासिन्दाले मनको ढुकढुकी र
मौलिक पहिचानका रुपमा लिने गर्छन् । जस्को झल्को यो वर्षको अनन्ते मेलामा पनि
देखिएको छ । अनन्ते खेल्न भन्दा बढी देउडा खेलहरु भएको देखिन्छ ।
यो पर्व मनाएमा आफूले सोचेअनुसारको
मनोकांक्षा पूरा हुने स्थानीयवासीमा विश्वास रहेको छ । यस पर्वलाई महाभारतमा
कौरवसँगको लडाइमा पाण्डवहरुले गरेको विजय प्राप्तिको खुसियालीमा पाण्डवका समर्थक
तथा न्यायका पक्षधरले मनाउने विजयोत्सवको रुपमा हरेक वर्ष मनाउने गरिन्छ । अनन्ते
पर्वलाई सत्यको विजय भएको दिनको सम्झनास्वरुप पनि मनाउने गरिन्छ । मेला अवधिभर
लाखे नाच, माँगल, पाण्डवहरुको युद्ध कौशल र लडाईको
युद्ध नीतिका बारेमा पनि चर्चा गरिन्छ ।
आफन्तसँगको भेटघाट र मित्रता गाँस्न
मिल्ने र देउडा गीतकै भाकाबाट मनोरञ्जन लिने पर्वका रुपमा अनन्तेको पहिचान भएको
पाइन्छ । छिमेकी गाउँ टोल, गोठाला, विद्यार्थी र कर्मचारी एकै ठाँउमा जम्मा
हुने र रमाईलो अनन्तेको अवसरमा गरिन्छ ।
दोधारा चाँदनी स्थित अनन्ते मेलामा
स्थानीय देउडा खेलाडीहरुले भव्य देउडा गाएका छन् । जिल्लाका देउडा खेलाडी सहितको
प्रस्तुतिको देउडा दिनभर चलेको थियो । नेताहरु देखि सरकारी कर्मचारी, विद्यार्थी देखि महिला सबै देउडामा नै झुमेका छन् ।
अनन्ते मेलामा पुरुषहरु गोल घेरामा लाम लागि
हातमा काँसाका धातुबाट निर्मित मिजुरा बजाएर दुई समुहले पालै पालो गीत, गाथा गाएर रमाइलो गर्ने गर्दछन् । भने महिलाहरुले अनन्तेको पहिले दिन
जमरा कलशमा सजिएर भित्र्याउने चलन रहेको छ ।
मेला अवधी भर स्थानीयले कुले देवताको
पूजा आजा गर्ने र पारिवारीक खुसी, दिर्घायु र सुख शान्तिका लागि कामना
गर्ने गर्दछन् । अनन्ते मेलाको आयोजना बडिमालिका समाज विकास नेपाल दोधारा चाँदनी मालिका आधारभूत बिधालयमा गरेको
थियो ।
Please don't try to Spam :)